काठमाडौं– हुन्डाई मोटर्सको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटर क्षमतामा नेपाली बजारमा उपलब्ध हुने भएको छ । यस अगाडि नेपाली बजारमा १२५ किलोवाट क्षमताको आयोनिक ५ उपलब्ध थियो ।
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अब भने १०० किलोवाट क्षमतामै सो ईभी उपलब्ध गराउने भएको जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले सो गाडीको मूल्य समेत वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यस अनुसार १०० किलोवाट क्षमताको आयोनिक ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । हाल उपलब्ध १२५ किलोवाट क्षमताको आयोनिक ईभीको मूल्य १ करोड ३ लाख ९६ हजार रुपैयाँ छ ।
एक महिना भित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
प्रतिक्रिया