मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

चोभारस्थित सिमुलेशन साइन्स सेन्टर पुनः सञ्चालनमा




काठमाडौं । लामो समयपछि काठमाडौंको चोभारस्थित सिमुलेशन साइन्स सेन्टर पुनः सञ्चालनमा आएको छ । अब यो केन्द्र बालबालिका, विद्यार्थी तथा परिवारका लागि सिकाइ र मनोरञ्जन दुवैको आकर्षणस्थल बन्ने भएको छ ।

नव–उन्नत सेन्टरमा पाठ्यक्रममै आधारित वैज्ञानिक गतिविधिहरू, स्टीम कार्यशाला, तथा बालबालिकाका लागि भूमिका–अभिनय गर्ने क्षेत्र थपिएको छ, जसले विज्ञान शिक्षालाई रमाइलो, अन्तरक्रियात्मक र व्यवहारिक बनाउने उद्देश्य राखेको छ ।

सबैभन्दा ठूलो आकर्षण भनेको नेपालको पहिलो अन्डरवाटर थिम विज्ञान सङ्ग्रहालय हो । यहाँ आगन्तुकहरूले जीवन्तजस्ता देखिने समुद्री जीवहरू गहिरो समुद्री वातावरणमा अवलोकन गर्न सक्नेछन् । प्रदर्शनीको केन्द्रीय आकर्षण २६ फिट लामो एनिमेट्रोनिक शार्क रहेको छ, साथै अन्य समुद्री प्राणीहरूले पनि बालबालिका र आगन्तुकमा कौतुहलता र अचम्म पैदा गर्नेछन् ।

“हाम्रो उद्देश्य बालबालिकाले खेल्दै–सिक्दै, खोज्दै र वास्तविक विज्ञान अनुभव गर्दै ज्ञान प्राप्त गर्ने वातावरण सिर्जना गर्नु हो,” सिमुलेशन साइन्स सेन्टरका प्रवक्ताले बताए । “नयाँ प्रदर्शनी र कार्यशालाले विज्ञानलाई रोमाञ्चक बनाउँदै नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने हाम्रो विश्वास छ।”

सिमुलेशन साइन्स सेन्टर विद्यालय समूहहरूका लागि सञ्चालनमा आइसकेको छ भने २१ भदौदेखि सर्वसाधारण, परिवार तथा जिज्ञासु विद्यार्थीहरूका लागि खुला हुने जनाएको छ ।

  :