काठमाडौं– नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विद्युतीय सवारीसाधन (ईभी)लाई प्रवद्र्धन गर्न कार्यदल गठन गरेका छन्।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्दै पहिलो निर्णय स्वरुप विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्न ५ सदस्यीय कार्यदल गठन गरेका हुन्।
मन्त्रालयका पूर्वाधार निर्माण तथा यातायात महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक, मन्त्रालयका कानुन उपसचिव र आन्तरिक व्यवस्थापन शाखाका उपसचिव सदस्य छन्।
मन्त्रालयका मेकानिकलतर्फका सिनियर डिभिजनल इन्जिनियरलाई सदस्यसचिव तोकिएको छ। कार्यदललाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
कार्यदलले विद्युतीय सवारीसाधन प्रयोगको हालको अवस्था (पूर्वाधार, दर, करसमेत) अध्ययन गर्नेछ। विद्युतीय सवारी साधन सम्बन्धी विद्यमान नीतिगत, संस्थागत एवम् कानूनी व्यवस्थाको पनि अध्ययन गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ।
इभी प्रयोगका प्राविधिक, आर्थिक र सामाजिक चुनौतीको विश्लेषण गरी इभीलाई प्रवर्धन गर्न नीतिगत, संस्थागत र आर्थिक पक्षमा सुधारका लागि सुझाव पेस गर्न भनिएको छ।
कार्यदलले विद्युतीय सवारीसाधन चार्ज गर्ने पूर्वाधार, मर्मत सम्भार गर्ने वर्कसप तथा ब्याट्री र त्यसको व्यवस्थापन सम्बन्धमा पनि सुझाव दिनेछ। यस्तै इभीको गुणस्तर र मापदण्ड सिफारिस गर्ने जिम्मेवारी पनि कार्यदलले पाएको छ।









प्रतिक्रिया