मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

जेनजी आन्दोलनमा शहीद भएका परिवारका एक सदस्यलाई चौधरी ग्रुपले रोजगारी दिने



काठमाडौं–चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनमा शहीद भएका परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।

चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार जेनजी आन्दोलनका क्रममा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने बुधबार घोषणा गरेका हुन् ।

उनले शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्ने जनाएका हुन् । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो , उनले भनेका छन्–हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ । चौधरीले आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठुलो क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् ।

उक्त आन्दोलनका क्रममा हाम्रो निजी सम्पत्ति र उद्योगमा ठुलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनः निर्माणको यात्रामा अघि बढेका छौ, उनले लेखेका छन् ।


सीजीले शहीद परिवारहरूसँग प्रत्यक्ष सम्पर्क सुरु गरिसकेको बताउँदै चौधरीले आवश्यक विवरणका लागि कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

  :