६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मन्थली नगर




काठमाडौंबाट १ सय ३१ किलोमिटरको दूरीमा रहेको रामेछापको मन्थली नगरपालिका बाग्मती प्रदेश अन्तर्गत रहेका १ सय १९ स्थानीय तहमध्ये एक हो । रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका, पश्चिममा खाँडादेवी र दोरम्बा गाउँपालिका, उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मैंलुङ गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका रहेका छन् । २ सय ११ दशमलव ७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिका साविकका एघार वटा गाउँ विकास समितिहरु समायोजन भई स्थापित भएको हो । यस नगरपालिकामा १४ वटा वडा छन् ।


यस नगरपालिका पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने थु्रपै्र सम्भावनाहरु छन् । यस नगरक्षेत्रमा दर्जनौं पर्यटकीय गन्तव्यहरु छन् । प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रुपमा वैरा महादेवले परिचित स्थानापति महादेव मन्दिर, चिसापानीको भिमसेन थान र चिसापानी गढी, कठजोरको ऐराम्वास मन्दिर, भलुवाजोरको तिल्केस्थान गढी, भटौलीको ढिकुरे मन्दिर मन्थली नगरपालिकाका अमूल्य निधि हुन् ।

अथाह प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ मन्थली नगर । धार्मिक पर्यटनको प्रबल सम्भावना बोकेको छ यस नगरपालिकाले । नेपालकै तेस्रो र पूर्वको दोस्रो पशुपतिनाथको रुपमा परिचित स्थानापति महादेवको मन्दिर यसै नगरपालिकामा अवस्थित रहेको छ । यस नगरपालिकाको वडा नम्बर ९ पुरानागाउँ, बाहुनचुरास्थित अग्लो पहाडको टुप्पोमा स्थानापति महादेवको मन्दिर छ । यो मन्दिर रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । वैरा महादेवको नामले परिचित स्थानापति महादेवको मन्दिरलाई बुढा महादेव भनेर समेत पुकारिन्छ । यस मन्दिरमा प्रत्येक बर्षको हरितालिका तीज, ठूलो एकादशी, महाशिवरात्री जस्ता पर्वमा भक्तजनहरुको घुईंचो लाग्ने गरेको छ । अहिले विशेष चाडपर्वमा मात्र होइन, दैनिक दर्शनका लागि स्थानापति महादेव मन्दिर पुग्ने भक्तजनहरु बढेका छन् । वैरा महादेव भएका कारण यहाँ वर माग्दा ठूलो स्वरले माग्नुपर्ने जनविश्वास छ । भौगोलिक विकटता र प्रचारप्रसारको कमीले केही समय अगाडिसम्म छायामा परेको स्थानापति महादेवको मन्दिर विकासका लागि मन्थली नगरपालिकाले पूर्वाधार निर्माणको काम गर्दै आएको छ । यस ऐतिहासिक धार्मिक स्थल स्थानापति महादेव मन्दिर विकासका लागि मन्थली नगरपालिकाले गुरुयोजना नै बनाएर काम गर्दै आएको छ ।


मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीमा अवस्थित चिसापानी गढी ऐतिहासिक रुपमा महत्वपूर्ण छ । नेपाल र अंग्रेज युद्धका बेलामा नेपाली सेनाले यो चिसापानी गढीलाई प्रशिक्षण गर्ने थलोको रुपमा प्रयोग गरेको बताइन्छ । यहाँ पुग्न निर्माण भएको पैदलमार्ग र सिद्धबाबाको मन्दिरले चिसापानी गढीको आकर्षण झन बढेको छ । चिसापानीमा मिमसेन थान पनि रहेको छ । अहिले चिसापानी गढी घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दो छ ।
मन्थली नगरपालिकाको वडा नम्बर १४ मा अवस्थित पोखरी डाँडामा पनि एउटा पर्यटकीय गन्तव्य मध्ये एक हो । यो मन्थली नगरपालिकाको सबैभन्दा उच्च स्थान हो । यहाँ पुगेपछि आफ्नै आँखै अगाडि नेपालका प्रसिद्ध हिमश्रृंखला तथा मनोरम प्राकृतिक दृश्यहरु देख्न सकिन्छ । यस डाँडाबाट नगरका सम्पूर्ण वडाहरुको रमणीय दृश्यहरु र प्रसिद्ध शैलुङ डाँडा समेत देख्न सकिन्छ । पोखरी डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको छ मन्थली नगरपालिका ।

मन्थली नगरपालिकाको वडा नं १ को मंगलादेवी थान, वडा नम्बर २ मा रहेको निलकण्ठेश्वर महादेवको मन्दिर, गुप्तेश्वर मन्दिर, वडा नम्बर ३ को ऐरम्वास मन्दिर, ठाँटी महादेव स्थान, वडा नम्बर ७ को ढिकुरी मन्दिर, वडा नम्बर ८ मा भीमसेन थान, नर्वदेश्वर मन्दिर जस्ता ऐतिहासिक महत्वका मन्दिर छन् । वडा नम्बर १० मा चनखुको तेत्तीसकोटी मन्दिर, वडा नम्बर ११ मा रहेको डाँडा महादेव मन्दिर, वडा नम्बर १२ मा अवस्थित पशुपति मन्दिर, खाँडादेवी मन्दिर र जाल्पादेवी थान पनि धार्मिक दृष्टिले निकै महत्वपूर्ण रहेका छन् । नगरका विभिन्न स्थानमा बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र माने गुम्बाहरु छन् ।

यस नगर क्षेत्रमा रहेको मन्थली विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा पर्यटन प्रवद्र्धन हुँदै गईरहेको छ । होटल व्यवसाय बढ्दै छ । मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमास्थलसम्म उडान हुँदै आएको छ । आन्तरिक उडान भर्ने विभिन्न हवाई कम्पनीहरुले मन्थली–लुक्ला उडान गर्दै आएका छन् । मन्थली विमानस्थल विश्वकै अग्लो सगरमाथा आरोहीका लागि एउटा महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट बन्न पुगेको छ । उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै आएको छ मन्थली नगरपालिकाले ।

  :