३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

पर्यटनमा प्रबल सम्भावना बोेकेको नमोबुद्ध नगरपालिका




धार्मिक, सांस्कृतिक एवम पर्यटकीय दृष्टिले सम्पन्न नगरपालिका हो काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका । यो नगरपालिका साविकका ८ वटा गाविसहरु मथुरापाटी, फुलवारी, मेथिनकोट, कानपूर कालापानी, खनालथोक, पुरानोगाउँ दाप्चा, छत्रेबाँझ दाप्चा, डराउने पोखरी र श्यामपाटि सिमलचौर मिलाएर बनाईएको छ । यस नगरपालिकामा ११ वटा वडा छन् । यस नगरपालिकामा ऐतिहासिक स्थान नमोबुद्ध, दाप्चा, फुलवारी र भकुण्डेबेशी लगायतका अधिकांश क्षेत्रमाकृषि, व्यापार र व्यवसाय संग सम्वन्धित प्रचुर सम्भावनाहरु रहेका छन् । १०२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको पूर्वमा तेमाल गाउँपालिका, पश्चिममा धुलिखेल र पनौंती नगरपालिका, उत्तरमा पाँचखाल र धुलिखेल नगरपालिका र दक्षिणमा रोशी र वेथानचोक गाउँपालिका रहेका छन् ।


धार्मिक धरोहर र धार्मिक पर्यटनको प्रबल सम्भावना बोकेको छ यस नगरपालिकाले । नमोबुद्ध विश्वभरिका बौद्धधर्मावलम्बीहरुको तीर्थस्थल रहेका कारण यस क्षेत्रमा पर्यटन व्यवसायको प्रबल सम्भावना रहेको हो । ‘कृषि, व्यापार र पर्यटनः हाम्रो सशक्त अभियान’ भन्ने नाराका साथ यस नगरपालिकाले विकास निर्माणलाई तीब्रता दिंदै आएको छ ।
पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न नमोबुद्ध नगरपालिकालाई धार्मिक, पर्यटकीय नगरीमा रुपान्तरण गर्ने अभियानमा यस नगरपालिका रहेको छ । नगरपालिकाभित्र रहेका मठमन्दिर, धार्मिकस्थल, पर्यटकीयस्थल, सामुदायिक वन, खेल मैदान, होमस्टे, विभिन्न समुदायका जात्रा पर्व, भेषभुषा आदिको विभिन्न निकायको समन्वय र सहकार्यमा प्रवद्र्धन, विकास र संरक्षणमार्फत पर्यटन विकासको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको छ यस नगरपालिकाले ।
शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगिकार गर्दै नगर क्षेत्रभित्रका बिद्यालयहरुका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस नगरपालिकाले प्रशस्तै कामहरु गरेको छ । नगर क्षेत्रमा सामुदायिक बिद्यालयहरुलाई पूर्णरुपमा व्यवस्थित गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस नगरपालिकाले सहयोग गर्दै आईरहेको छ ।


यस नमोबुद्ध नगरपालिकाका अधिकांश बासिन्दाहरु कृषि पेशामा आवद्ध छन । कृषिको आधुनिकीकरण, विविधिकरण तथा व्यवसायीकरण गरी आय आर्जनका लागि यस नगरपालिकाले प्रभावकारी कामहरु गर्दै आईरहेको पाइन्छ । नेपाल जलवायु अनुकूलन गाउँ कार्यक्रम बजार क्षेत्रलाई लक्षित गरि ऊर्जा किफायती अन्न भण्डारण तथा प्रशोधन प्रविधिको उपयोग, व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि बजार प्रवद्र्धन कार्यक्रमको लागि बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य सम्पन्न गरिएको छ । यसै नगरपालिकाको वडा नम्बर ३ स्थित दाहालचौरमा करिब नौ करोडको लागतमा एक सय असी मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण कार्यलाई नगरपालिकाले निरन्तरता दिएको छ ।


भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरु भएका छन् । नगर क्षेत्रभित्रका प्रमुख सडकहरु कालोपत्रे गर्ने, सहायक सडकहरुलाई ढलान, ग्राभेल गरेर स्तरोन्नति गर्ने कामहरु धमाधम भईरहेका छन् । सम्पूर्ण वडामा एक वडा एक पोखरी कार्यक्रम, एक वडा एक चौतारी कार्यक्रम पनि यस नगरपालिकाले सञ्चालन गरेको छ ।
युवाहरु विकासका धरोहर हुन् । युवा शक्ति परिचालनका लागि यस नगरपालिकाले काम गर्दै आएको छ । युवा स्वरोजगार अन्तर्गत युवा लक्षित कार्यक्रमहरु सञ्चालन गरिएको छ । यस नगरपालिकाले महिलाहरुलाई विभिन्न तालिमहरु सञ्चालन गर्दै छ । जसको कारण गाउँघरमा नै रोजगारीको अवस्था सिर्जना गरिएको छ ।


नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुको सेवा विस्तार र गुणस्तर सुधारका लागि यस नगरपालिकाले विशेष जोड दिंदै आएको छ । यस नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ ।
आफ्नै भवन रहेको यस नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस नगरपालिकाले । कर्मचारी प्रशासनलाई पारदर्शी, जवाफदेही, प्रतिस्पर्धी र उत्प्रेरित बनाउन क्षमता विकास, अनमान योग्य वृत्ति विकास र कार्य सम्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गर्दै आएको छ यस स्थानीय तहले ।


यस नमोबुद्ध नगरपालिकाले जनमुखी कार्यक्रम सञ्चालन गर्दै जनताको भावना अनुकूल योजना तर्जुमा गरि कार्यान्वयन गर्दै आएको छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको छ यस नगरपालिका ।
आगामी दिनमा नमोबुद्ध नगरपालिका क्षेत्रलाई सबै क्षेत्रमा विकासले सुसम्पन्न गराउन सफल रहोस यस नमोबुद्ध नगरपालिका ।

  :