प्राकृतिक रुपमा सुन्दर र ऐतिहासिक गाथाहरुबाट बैभवशाली जिल्ला हो सिन्धुली जिल्ला । प्रशस्तै प्राकृतिक छटाले युक्त, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक रुपले अनुपम, सुन्दर छ सिन्धुली । नेपालको सबैभन्दा सुन्दर सडकमार्ग वीपी राजमार्ग पनि सिन्धुली जिल्लामै पर्दछ । त्यसैैैगरि सिन्धुली जिल्ला जुनार खेतीको लागि पनि प्रसिद्ध छ । यसै सिन्धुली जिल्ला अन्तर्गत एउटा स्थानीय तह हो सुनकोशी गाउँपालिका ।
सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कुशेश्वोर दुम्जा , झागाझोली रातमाटा , पुरानो झागाझोली, सित्तलपाटी र मझुवा गरि ५ गाविस समेटी स्थापना गरिएको हो सुनकोशी गाउँपालिका । यस गाउँपालिकाको नामाकरण नेपालको प्रसिद्ध ठुलो नदी सप्तकोशीको सहायक नदी सुनकोशीलाई आधार मानी गरिएको छ । यस गाउँपालिकाको पूर्वमा गोलान्जोर गाउँपालिका, पश्चिममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका र दक्षिणमा घ्याँग्लेख गाउपालिका र कमलामाई नगरपालिका रहेको छ । १५४ दशमलव ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ७ वटा वडा छन् । भौगालिक धरातलीय रुपमा स–साना टार देखि खोला खोल्सी, अग्लो होचो डाँडा काँडा हँुदै महाभारत शृंखला सम्मको भूभाग रहेको छ ।
यस गाउँपालिकाको विभिन्न भागबाट खोला नालाहरु सुनकोशी नदीमा समाहित भएका छन । यहाँको हावापानी नेपालको हिमाल, पहाड र तराइ जस्तै तिन प्रकारको रहेको पाइन्छ । यस सुनकोशी गाउँपालिकाका वासिन्दाहरुको मुख्य पेशा कृषि हो । कृषि पेशालाई व्यवसायिक र यान्त्रीकरण गर्दै एक वडा एक उत्पादनलाई अभियानकै रुपमा लगि नयाँ पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको छ यस स्थानीय तह । अध्यक्षसँग युवा किसान भेटघाट कार्यक्रममार्फत युवा किसानहरुलाई अनुदान समेत प्रदान गर्दै आएको छ यस गाउँपालिकाले । साना ठूला खोला, खहरेबाट सिञ्चित भइ आएको यो क्षेत्र परापूर्वकालदेखि नै अन्न र पशुजन्य उत्पादनको प्रचुर सम्भावना बोकेको छ । परम्परागत कृषिमा निर्भर रहेको यो क्षेत्रमा हाल पशुपालन, तरकारी तथा फलफूलको व्यवसायिक खेती गर्ने प्रचलन बढ्दै गएको छ र सोही अनुरुपमा माग पनि बढ्दै गएको छ । यहाँ उपलब्ध जैविक विविधता र प्राकृतिक श्रोतको अधिकतम उपयोग गरी कृषि व्यवसायीकरण मार्फत तुलनात्मक लाभका बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगार, रोजगार र कृषि व्यवसायी बनाउने लक्ष्य अनुरुप दीर्घकालीन र अल्पकालीन योजना तर्जुमा तयार गर्ने कार्य भइरहेको छ । यस गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पकेट क्षेत्र र ब्लकका कार्यक्रम सञ्चालन भइरहेको छ, साथै कृषि जोन कार्यक्रम सञ्चालनमा रहेको छ ।
यस गाउँपालिकामा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने थुपै्र सम्भावनाहरु छन् । यस पालिकाक्षेत्रमा दर्जनौं पर्यटकीय गन्तव्यहरु छन् । पर्यटकीय हिसाबले कुशेश्वर महादेव मन्दिर, फापर चुली, विपी पार्क , सहिद स्मारक, सुनकोशी नदीमा जलयात्रा गर्ने र विभिन्न मठमन्दिर, गुम्बाले महत्व बोकेको स्थानको रुपमा रहेको छ यस गाउँपालिका । दक्षिणतर्फ महाभारत श्रृखला र उत्तर तर्फ सुनकोशी नदीको बीचमा अवस्थित यस गाउँपालिका जैविक विविधता र प्राकृतिक श्रोतका हिसावले महत्वपूर्ण रहेको छ । सुनकोशी मरिन डाइभर्सन र खुर्कोट चियाबारी सुरुङमार्गले आकर्षण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुबाट लाभ लिन आवश्यक रणनीति तय गर्दै अगाडि बढेको छ यस गाउँपालिका । पर्यटकीय गन्तव्यको रुपमा देविस्थान, खानीगाउँ, सिउरेनी, ओख्रेनी, काफ्लेचौर, डाँगी, बोल्दे, बुद्धपार्क, हिलेखर्क, फापरचुली, बन्दीपुर, मतनबास, नाँगी गढी पर्यटन ट्रेल निर्माण र विकास गर्ने कार्यलाई यस गाउँपालिकाले निरन्तरता दिईरहेको छ ।
पालिकाको शैक्षिक क्षेत्रको सुधारका लागि सुनकोशी गाउँपालिकाले अभियान नै सञ्चालन गर्दै आएको छ । जसका कारण सामुदायिक विद्यालयहरुको पठनपाठनमा निकै सुधार आएको छ । यस गाउँपालिकामा ४५ वटा सामुदायिक विद्यालय छन् । पालिका क्षेत्रभित्रका सामुदायिक बिद्यालयहरुका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा सुनकोशी गाउँपालिकाले प्रशस्तै कामहरु गरेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न सिकाई सामाग्रीहरु, बाल पुस्तकालय, आइटी सिकाई सामाग्रीहरु, खेलकूदका सामाग्रीहरु, सरसफाइ सामाग्रीहरु जस्ता भौतिक तथा प्राविधिक सुविधाको विस्तार गर्दै अगाडि बढेको छ यस स्थानीय तह । माध्यमिक तहको प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारमा समेत यस गाउँपालिकाले काम गर्दै आएको छ ।
यस गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरु प्रविधि र पूर्वाधारयुक्त बन्दै गईरहेका छन । यस गाउँपालिकामा १४ वटा स्वास्थ्य संस्थाहरु छन् । ‘स्वस्थ सुनकोशी, स्वस्थ नागरिक’ अभियानलाई सफल बनाउन पालिकाभित्र रहेका आयुर्वेदालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्यकेन्द्र र सामुदायिक स्वास्थ्य इकाइबाट व्यवस्थित र सुविधासम्पन्न रुपले सेवा प्रवाहका लागि व्यवस्थापनका सम्पूर्ण पक्षहरुलाई यस गाउँपालिकाले विशेष ध्यान दिंदै आएको छ । दुर दराजका नागरिकहरुलाई स्वास्थ्य सेवामा पहुँचको लागि स्वास्थ्य संस्था र जनशक्तिको व्यवस्था यस गाउँपालिकाले गरेको छ ।
यस गाउँपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस पालिका क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरु भएका छन् । पालिका क्षेत्रभित्रका प्रमुख सडकहरु कालोपत्रे गर्ने, सहायक सडकहरुलाई स्तरोन्नति गर्ने कामहरु धमाधम भईरहेका छन् । एक वडा एक दिगो र सुरक्षित कालोपत्रे सडक निर्माण कार्यलाई अभियानकै रुपमा बजेटमा पहिलो प्राथमिकतामा राखेको छ यस स्थानीय तहले । नागी, मतनवास, बन्दीपुर, कोटगाउँ, डाँगी, काफ्लेचौर महाभारत कृषि सडक लगायत वडाभित्रका महत्वपूर्ण सडकहरुको लागि संघ र प्रदेश सरकारसँग पहल र सहकार्य गरी स्तरोन्नतिको कार्यलाई निरन्तरता दिईरहेको छ यस गाउँपालिकाले ।
यस गाउँपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रुपमा अंगीकार गरि त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ ।
जनताको सबैभन्दा नजिकको निकाय हो स्थानीय तहहरु । स्थानीय तहहरु लोकतन्त्र र सुशासनलाई जनस्तरसम्म पु¥याउने संस्थागत संयन्त्र हुन । स्थानीय तहहरु मुलुकको समग्र विकासको सबैभन्दा भरपर्दो माध्यम हुन । केन्द्रले प्रयोग गर्दै आएका वित्तीय, प्रशासनिक, राजनीतिक अधिकारहरु विकेन्द्रीकरणको मर्म र भावना अनुसार निक्षेपण गर्दै आईरहेका हुन्छन स्थानीय तहहरुले । स्थानीय तहहरुको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । विकास निर्माणका अलावा सामाजिक परिचालन, चेतना जागरण तथा आय आर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन् स्थानीय तहहरुले । यिनै स्थानीय तहमध्ये एक सिन्धुलीको सुनकोशी गाउँपालिकाले आगामी दिनमा पालिका क्षेत्रलाई अझै सबल, सक्षम र विकसित गर्न सफल रहोस् ।
प्रतिक्रिया