३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

पर्यटनको प्रचुर सम्भावना बोकेको सिन्धुलीको गोलन्जोर



     

बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गरी ७ वटा गाउँ विकास समितिहरूलाई एकीकृत गरी गोलन्जोर गाउँपालिका बनेको हो । जुनारको राजधानीको रुपमा परिचित यस गाउँपालिकामा ७ वटा वडा छन् । सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू वाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो । यस गोलन्जोर डाँडा आफैंमा प्राकृतिक रुपमा रमणीय छ जुन पर्यटकहरुको आकर्षणको केन्द्र पनि हो । यस गाउँपालिकाको पूर्वमा फिक्कल गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्ला र दक्षिणमा कमलामाई नगरपालिका छन् । हाल यस गाउँपालिकाको केन्द्र हालको वडा नं. ३ ग्वालटारमा रहेको छ ।

१८४ दशमलव १३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ यस गोलन्जोर गाउँपालिका । पश्चिमबाट पूर्व तर्फ बगिरहेको सुनकोशी नदीको दक्षिण तर्फ यो गाउँपालिकाभित्र नेपालको पहाडी क्षेत्र जोड्ने मध्य पहाडि पुष्पलाल लोकमार्गको सिन्धुली खण्डको अधिकांश भाग पर्दछ । जुनार खेतीका सिन्धुली जिल्लाकै सबैभन्दा उर्वर भूमीका रुपमा यो गोलन्जोर गाँउपालिकालाई मानिन्छ । यस गाउँपालिकाको रतनचुरा, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोन अन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । यस गाउँपालिकामा कलङ्केश्वरी महादेव गुफा, विन्दवासिनी मन्दिर, धारापानी, भिम्लेश्वर महादेव, सुलीभञ्ज्याङ, माझकुभिण्डे जुनार बगैंचा, गोलन्जोर भ्यू टावर, खनियाखर्कदेखि धापचौकी महाभारत क्षेत्र, नाकाजोली जुनार क्षेत्र लगायतका पर्यटकीय क्षेत्रहरु छन् ।
यस गाउँपालिकाको मुख्य बजारमा खुर्कोट, ग्वालटार र खनियाखर्क हुन् । खनियाखर्क र खुर्कोट हुँदै विपि राजमार्ग गएको छ वडा नंं ४ बाहेक अन्य सम्पुर्ण वडामा मध्य पहाडी राजमार्गले छोएको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको छ गोलन्जोर गाँउपालिकाले । सिन्धुली जिल्लाकै अग्लो डाँडाको रुपमा रहेको गोलन्जोर डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आम्दानीको स्रोत बनाउन गोलन्जोर गाउँपालिका लागेको छ । यस गोलन्जोर डाँडामा भ्यु टावर निर्माण गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी जनताको आय आर्जनमा बृद्धि गर्न सकिने प्रचुर सम्भावना रहेकोले यस स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गरी जनताको आय आर्जन र जीविकोपार्जनमा मद्दत पुर्याउने उद्देश्यले भ्यु टावर निर्माण गरिएको छ्र । भ्यू टावरको निर्माणपछि गोलन्जोर डाँडा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण केन्द्र बन्न पुगेको छ । भ्यू टावर निर्माणसँगै यस क्षेत्रमा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । गाउँपालिकाले गोलन्जोर डाँडामा भ्यूटावर निर्माण र त्यहाँ जाने बाटोमा रेलिङ समेत हालेपछि पर्यटकहरुको चहलपहल बढेको हो । गोलन्जोर डाँडाबाट आकाश खुलेको समयमा तराईका फाँट र हिमालहरु समेत छर्लङ्ग देखिन्छन् । गोलन्जोर डाँडामा नौ वटा पोखरी पनि छन् ।


यस गाँउपालिकाको वडाहरु ६ र ७ सुनकोशी नदीसँग जोडिएको हुनाले यो गाँउपालिका ¥याफ्टिङको लागि अति नै सम्भावना बोकेको गाँउपालिका हो । कृषि र व्यवहारिक शिक्षालाई जोड दिँदै नयाँ खर्कमा भएको कृषि विद्यालयलाई सिन्धुलीकै उत्कृष्ट नमुना कृषि विद्यालय बनाउने योजना समेत अगाडि सारिएको छ ।
गोलन्जोर र ल्यानद्रयाङ डाडामा पर्यटक आकर्षण गराइ आन्तरिक आम्दानीको बढाउन आबश्यक गुरुयोजना निर्माण गर्दै साहसिक पर्यटन , पिकनिक स्पोट , र दृश्याबलोकनका लागि आबस्यक पुर्बाधार निर्माण गर्दै अगाडि बढेको छ यस गाउँपालिका ।


यस गाउँपालिकालाई समुन्नत, व्यवस्थित, र दिगो रुपमा विकसित गराउनका लागि यहाँका जनप्रतिनिधिहरु अहोरात्र खटिरहेका छन् । यस पालिकाले जनमुखी कार्यक्रम सञ्चालन गर्दै जनताको भावना अनुकूल योजना तर्जुमा गरि कार्यान्वयन गर्दै आएको छ । पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका यस पालिकाले गरेका कामहरु निकै उपलब्धिमूलक र उदाहरणीय छन् । यस स्थानीय तहले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ । पालिकाको शैक्षिक क्षेत्रको रुपान्तरणका लागि नगरपालिकाले गरेका कामहरुले शैक्षिक विकासमा ठूलो फड्को मारेको छ । उन्नत पशुपालन र व्यावसायिक कृषिमा विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् यस पालिकामा । सबै स्वास्थ्य संस्थाहरु प्रविधि र पूर्वाधारयुक्त बन्दै गईरहेका छन ।


विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरुको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्याङ्कनका हरेक चरणहरुमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनीधित्व हुने गरि सर्वदलीय सर्वपक्षीय माध्यमबाट विकासको गतिलाई अगाडि बढाउँदै आएको छ यस स्थानीय तहले । पालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस गोलन्जोर गाउँपालिकाले । सहमति, सहकार्य र भिजनका साथ अगाडि बढेमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण यस गोलन्जोर गाउँपालिकाले दिएको छ ।

  :