६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

नगरकोटमा शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल




विश्व पर्यटन दिवस सेप्टेम्बर २७ को सन्दर्भमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र २८ अर्थात असोज ११ शुक्रबार र १२ गते शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । कार्निभल पर्यटकीय नगरी नगरकोटमा हुनेछ ।

टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा आयोजना हुने सो कार्यक्रम अन्तर्गत मुलतः बागमती प्रदेशको दिगो पर्यटनमा ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ विषयमा अन्तरक्रियाको आयोजना हुनेछ ।

सेप्टेम्बर २८ का दिन काठमाडौं देखि नगरकोट सम्म टु ह्विल टुरिङ टु नगरकोट नामक मोटरसाइकल (याली आयोजना हुनेछ । नगरकोटमा पोलिसी डायलग अन्तर्गत विमेन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।

टु ह्विल टुरिङ इन नेपाल विषयमा पर्यटनविद् विनय शाक्य, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी विषयमा पूर्व डीएसपी गणशेखर श्रेष्ठ र विमेन इन मोटरसाइक्लिङ विषयमा प्रज्ञा अधिकारीले प्रस्तुतीकरण गर्नेछन् । यी सबै विषयमा विभिन्न विज्ञहरुले टिप्पणी गर्ने आयोजकले जनाएको छ।

मोटरसाइक्लिङ कार्निभलको सन्दर्भमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर लगायतका विभिन्न प्रतिस्पर्धात्मक गेमहरु आयोजना गरिने छन् । सो अवसरमा केही भ्लगरहरुले राइडिङ र टुरिङ सम्बन्धी आफ्ना अनुभवहरु सेयर गर्नेछन् ।

एफआईएमको अनुबन्ध अनुसार सो कार्यक्रम आयोजना हुने नासा नेपालले जनाएको छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड पिस’ रहेको सन्दर्भमा सोही अनुसार कार्यक्रम आयोजना गरिएको छ ।

कार्निभललाई एफआईएम, नेपाल पर्यटन बोर्ड तथा मोटोभर्स नेपालको सहयोग रहने छ ।

  :