७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सेनाको हेलिकोप्टरबाट प्राकृतिक जोखिममा परेका १६१ जनाको उद्धार




काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । शनिबार बेलुकादेखि बर्षा रोकिएको छ । तर बिहिबार बेलुकादेखि झण्डै ३६ घण्टा परेको अविरल बर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोले ठूलो क्षति गरेको छ ।

आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट प्राकृतिक जोखिममा परेका १ सय ६१ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाले तीन वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी राखेको छ ।


यसैबीच बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउने सबै संयन्त्र परिचालन गरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशैभरका विभिन्न सडक अवरुद्ध छन् । मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेका छन् ।

आइतबार बिहानसम्म पृथ्वी राजमार्ग, कान्ति राजमार्ग बिपी राजमार्ग लगायतका राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । प्रहरीका अनुसार बागमती प्रदेशमा काठमाडौँसहित ३०, कोशीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ८ र कर्णालीमा १ स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

गृह मन्त्रालयले हालसम्म बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको छ।

  :