२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

ऐतिहासिक, धार्मिक, भौगोलिक रुपले अनुपम, सुन्दर, मनोरम नगरी गोकर्णेश्वर




भौगोलिक विविधता, आफ्नो छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल र पवित्र बाग्मति नदीले सुशोभित राजधानी काठमाडौको उत्तर पूर्वमा अवस्थित एउटा नगरपालिका हो गोकर्णेश्वर नगरपालिका ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक रुपले अनुपम, सुन्दर, मनोरम नगरी हो गोकर्णेश्वर । यस नगरपालिकाको पूर्वमा कागेश्वरी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला, पश्चिममा काठमाडौं महानगरपालिका, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका रहेका छन् । ५८ दशमलव ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिका साविकका सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरु समेटिएर स्थापना भएको होे । हाल यस नगरपालिकामा नौ वटा वडा छन् । गोकर्णेश्वर नगरको समग्र विकासका लागि नेतृत्वदायी निकायको भूमिका निर्वाह गर्दै आईरहेको छ गोकर्णेश्वर नगरपालिकाले ।

यस नगरपालिकामा टार, बेसी, भीरपाखा, फाँट र जंगलको समीश्रण रहेको भूबनोट छ । अथाह प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ गोकर्णेश्वर नगरपालिका । प्रख्यात वागद्वार, गोकर्णेश्वर महादेव मन्दिर, प्राकृतिक सुन्दरताको अनुपम उपहार सुन्दरीजल, चामुण्डा मन्दिर, महांकाल मन्दिर, शहीद पार्क, उत्तरवाहिनी, वीपी संग्रहालय, विद्युत गृह, मेलम्ची सुरुङ, मूलखर्क, सुन्दरीमाई, चिसापानी, पुरानो वस्ती देशेगाउँ लगायत यस गोकर्णेश्वर नगरपालिकाका पहिचान र सम्भावना हुन् । गोकर्णेश्वर महादेवको भन्दा पुरानो मन्दिर नेपालमा अर्को फेला पर्न सकेको छैन । सबैभन्दा प्राचीन ग्रन्थ वेदमा समेत गोकर्णेश्वर महादेवको उल्लेख रहेको छ ।
वागद्वार, उत्तरगया लगायत यस नगरपालिका क्षेत्रभित्र धार्मिक हिसाबले प्रशस्तै स्थान छन् । विश्वमा नै सांस्कृतिक, धार्मिक, आध्यात्मिक र पर्यापर्यटनको क्रियाकलापहरुप्रति पर्यटकहरुको चाहना बढ्दै गईरहेको अवस्थामा गोकर्णेश्वर नगर सामु प्रशस्तै अवसरहरु रहेका छन् ।
यस नगरपालिकाका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्दछ नै । गोकर्णेश्वर नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न पुर्वाधार तथा सुविधाहरु उपलब्ध गराउन आवश्यक व्यवस्था गर्दै आएको छ यस गोकर्णेश्वर नगरपालिकाले ।


यस नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरु निकै उपलब्धिमूलक र उदाहरणीय छन् । जोरपाटी चोकमा झण्डै चार रोपनी क्षेत्रफलमा यस नगरपालिकाको बहुउद्देश्यीय भवन बनिरहेको छ । नगरपालिकाका सबै नौ वटै वडा भवन निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।
यस नगरपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ ।
विकासको पहिलो स्तम्भ शिक्षा हो । नगरको शैक्षिक क्षेत्रको सुधारका लागि गोकर्णेश्वर नगरपालिकाले अभियान नै सञ्चालन गर्दै आएको छ । जसका कारण सामुदायिक विद्यालयहरुको पठनपाठनमा निकै सुधार आएको छ । आधारभूत तहको शिक्षासम्म आफ्नै पाठ्यपुस्तक तयार गर्ने सबैभन्दा पहिलो पालिकाको रुपमा गोकर्णेश्वर नगरपालिकाले कीर्तिमान बनाएको छ । यस नगरपालिकामा भएका १६ वटा सामुदायिक विद्यालयमा निःशुल्क वितरण गरिएका पुस्तक निजी बिद्यालयमा पनि पठनपाठन हुँदै आएको छ । नगर क्षेत्रभित्रका सामुदायिक बिद्यालयहरुका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा नगरपालिकाले प्रशस्तै कामहरु गरेको छ । नगर क्षेत्रमा सामुदायिक बिद्यालयहरुलाई पूर्णरुपमा व्यवस्थित गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस नगरपालिकाले सहयोग गर्दै आईरहेको छ ।

भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरु भएका छन् । नगर क्षेत्रभित्रका प्रमुख सडकहरु कालोपत्रे गर्ने, सहायक सडकहरुलाई स्तरोन्नति गर्ने कामहरु धमाधम भईरहेका छन् ।
स्वास्थ्य क्षेत्रमा यस नगरपालिकाले फडको मारेको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरु प्रविधि र पूर्वाधारयुक्त बन्दै गईरहेका छन । नगरपालिका क्षेत्रभित्रका ५ वटा स्वास्थ्यचौकीको स्तरोन्नति भएका छन् । गोकर्णको १५ शैय्याको अस्पतालमा ७२ प्रकारका औषधिहरु निःशुल्क रुपमा पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ । जुन अस्पतालमा सत्तरी बर्ष पुगेका ज्येष्ठ नागरिकको उपचार निःशुल्क हुन्छ भने महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा पनि छ । नब्बे बर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने व्यवस्था पनि गर्दै आईरहेको छ ।
विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरुको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्याङ्कनका हरेक चरणहरुमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनीधित्व हुने गरि सर्वदलीय सर्वपक्षीय माध्यमबाट सहभागितात्मक पद्धतिको सिद्धान्तलाई यस नगरपालिकाले पूर्णरुपमा अवलम्बन गर्दै आईरहेको छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, खाद्य सुरक्षा, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आएको छ यस गोकर्णेश्वर नगरपालिकाले ।


सुशासन तथा पारदर्शिताका लागि यस नगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रुपमा अंगीकार गरि त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ ।
यस नगरपालिकाको न्यायिक समितिमार्फत नगरबासीहरुलाई परेको समस्या नगरमै समाधान हुँदै आएका छन. । न्यायिक समितिमा परेका उजुरीहरु न्यायिक समितिमार्पmत समझदारीमा बिना झञ्झट समाधान भईरहेका छन् । नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस नगरपालिकाले ।
केन्द्रले प्रयोग गर्दै आएका वित्तीय, प्रशासनिक, राजनीतिक अधिकारहरु विकेन्द्रीकरणको मर्म र भावना अनुसार निक्षेपण गर्दै आईरहेका हुन्छन स्थानीय तहहरुले । स्थानीय तहहरुको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै आएको छ गोकर्णेश्वर नगरपालिकाले । आगामी दिनमा नगर क्षेत्रलाई अझै सबल, सक्षम र विकसित गर्न सफल रहोस गोकर्णेश्वर नगरपालिका ।

  :