फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

गणेशमान सिंह स्मृति वाटिकाको सभापतिमा निवर्तमान सांसद थापा



काठमाडौं । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिको सभापतिमा संस्थाका संस्थापक सदस्य तथा निवर्तमान सांसद दुर्लभ थापा निर्विरोध निर्वाचित भएका छन् ।

थापाले सूर्यविनायक नगरपालिका वडा नं ५, कटुञ्जेमा निर्माण भएको गणेशमान सिंहको शालिक अनावरण कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेका थिए । सभापतिमा निर्वाचित भएसँगै अब वाटिका तथा प्रतिमाको संरक्षण र विकासको नेतृत्व थापाले गर्ने भएका छन् ।

समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने सङ्ग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएर गुरुयोजना समेत तयार पारेको थियो।

अहिलेसम्म सालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिंढी मर्मत, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैंचाका रुपमा परिणत गरिसकिएको छ । अन्य संरचना भने बजेट अभावले निर्माण पूरा हुन बाँकी रहेको छ ।

  :