काठमाडौं । बुधबार बिहान अप्रत्याशित रुपमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, धादिङ, गोर्खा र चितवन लगायतका क्षेत्रमा भएको धनजनकोे क्षतिप्रति प्रमुख अटोमोबाइल कम्पनीहरूले गहिरो दुःख व्यक्त गर्दै समवेदना तथा ऐक्यबद्धता जनाएका छन् ।
हुण्डाई, बीवाईडी, ओमोडा एण्ड जेको, चांगन, डोङफेङ, किया लगायत ब्राण्डका नेपालका आधिकारिक बिक्रेताहरूले सामाजिक संजालमार्फत सन्देश जारी गर्दै प्रभावित नागरिकहरूप्रति समवेदना व्यक्त गर्दै विपत्तिको समयमा कार्यक्षेत्रमा खटिएका उद्धारकर्मी, स्वयंसेवक र स्थानीय समुदायको साहसको उच्च प्रशंसा गरेका छन् ।
हुन्डाई नेपालले बाढीबाट प्रभावित क्षेत्रका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रभावितहरूको सुरक्षा र शीघ्र पुनःस्थापनाको कामना गरेको छ । कम्पनीले कठिन परिस्थितिमा रसुवाका नागरिकसँग आफूहरू एकसाथ रहेको उल्लेख गर्दै विपद्बाट प्रभावित सबैको सुरक्षा र शीघ्र स्वास्थ्यलाभ तथा पुनःस्थापनाका लागि प्रार्थना गरेको छ।
हुन्डाईले रसुवा, धादिङ, गोरखा र चितवनलगायत प्रभावित क्षेत्रले अब पुनःस्थापना र पुनर्निर्माणको बाटो समात्ने विश्वास व्यक्त गर्दै संकटको समयमा समुदायको एकता र सामूहिक शक्तिले प्रभावित नागरिकमा सान्त्वना, उपचार, आशा र नयाँ सुरुवातको भावना जगाउने अपेक्षा गरेको छ।
त्यस्तै, बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘स्ट्रङगर टुगेदर’ भन्ने मूल भावनाका साथ प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा प्रभावित प्रत्येक परिवार र स्थानीय समुदायको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
बीवाइडीले नागरिकहरूलाई संयमित र सचेत रहन आग्रह गर्दै आपत्तिको समयमा आपसमा सहयोगको हात बढाउन अपील गरेको छ।
नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्राता एसपीजी अटोमोबबाइल्सले स्ट्यान्डिङ टुगेदर भन्ने नाराका साथ बाढीबाट प्रभावित सम्पूर्ण नागरिक, परिवार र समुदायप्रति सहानुभूति प्रकट गरेको छ ।
कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै उद्धार कार्यमा अहोरात्र खटिएका उद्धार टोली, स्वयंसेवक र स्थानीय समुदायको योगदानको उच्च प्रशंसा गरेको छ ।
नेपालका लागि चांगन, डोङफेङ लगायत ब्राण्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले बाढीका कारण पुगेको जनधन, घरबार र जीविकोपार्जनको क्षति हृदयविदारक रहेको उल्लेख गर्दै कम्पनीले विपद्को समयमा सही सूचनाको प्रवाहलाई प्राथमिकता दिँदै आपत्कालीन सम्पर्क नम्बरहरू सेयर गर्न सबैमा आह्वान गरेको छ ।






प्रतिक्रिया