७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

नेपाली बजारमा डोङफेङको इलेक्ट्रिक बस



काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड डोङफेङको नेपालका लागि आधिकारिक बिक्रेता हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा भईरहेको नाइमा मोबिलिटी एक्स्पोमा डोङफेङका ईभी बस बिक्री सुरु गरेको छ ।


कम्पनीले डोङफेङका सिटी ईभी र लङ रेन्ज दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले सिटी ईभी बसको मूल्य १ करोड १४ लाख ५० हजार र लङ रेन्ज ईभीको १ करोड २४ लाख रुपैयाँ तोकेको छ । नाइमामा बुकिङ गर्ने ग्राहकले दुवै बसमा तोकिएको मूल्यमा ५ लाख रुपैयाँ छुट पाउने पनि कम्पनीले जनाएको छ ।

यी बसमा दुई वटा ढोका रहेका छन् भने सिट संख्या २५ देखि २९ सम्म रहेको छ । यी बसमा २२० किलोवाट आवरको पर्मानेन्ट म्यागनेट सिंक्रोनोअस मोटर छ । जसले अधिकतम १५०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यस्तै यी बसमा १०३.४७ किलोवाट आवर र १४० किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २५० र ३५० किमी सीएलटीसी रेन्ज दिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले यी बसको ब्याट्रीमा ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ । ग्राहकले इच्छा अनुसार वारेन्टी ८ वर्ष वा ४ लाख किमीसम्म विस्तार गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, मोटरमा ५ वर्ष वा १ लाख किमीको वारेन्टी दिएको छ ।

  :