काठमाडौं । बाढीले अटो क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । व्यवसायीले चाडपर्वलाई लक्षित गर्दै ल्याएका ७०० बढी विद्युतीय कार र २०० कन्टेनर बढी सामान बगाएकोे छ ।
चिनियाँ गाडी आयातको मुख्य केन्द्रका रुपमा लिइने रसुवा नाकाबाट दशै र तिहारका लागि लक्षित गरेर ल्याएका ७ सय ५० भन्दा बढी नयाँ गाडीहरू बगाएको छ भने १ हजारभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । अप्रत्याशित आएको बाढीले बगाएकोमा सबैभन्दा बढी गाडी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकका रहेका छन् । कम्पनीका अनुसार २५० युनिट बीवाईडीका गाडीहरू बाढीले बगाएको छ ।
त्यसैगरी, एमजीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सका १८० गाडी बगाएको कम्पनीले जनाएको छ भने ओमोडाको आधिकारिक एपीजी अटोमोबाइल्सका ६५ वटा, फोटोनका ६० र एमएडब्लु वृद्धिका ८० वटा गाडी बाढीले बगाएको छ ।
यसैगरी, शशीला मोटर्सका ३३ वटा गाडी, बीएआइसी, आर्कफक्स, स्काइवेल र म्याक्ससलगायत ४० वटा गाडीहरू बाढीमा बगेका छन् । बाढीले चीनको केरुङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौँ ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारीसाधनमा क्षति पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ ।






प्रतिक्रिया