काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले हालै रसुवा क्षेत्रमा आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएकाले लिपमोटर बी १० गाडीहरू मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन शुरु गरेको छ भने बुकिङ गरेका ग्राहकहरूलाई गाडी डेलिभरी गर्ने कार्य छिट्टै सुरु गर्ने जनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा लिपमोटर बी १० ले पाएको उत्साहजनक प्रतिक्रिया तथा अत्यधिक बुकिङलाई ध्यानमा राख्दै कम्पनीले कोरला नाकाबाट गाडी भित्र्याएको हो । ग्राहकहरूको उच्च मागलाई छिटोभन्दा छिटो पूरा गर्न सांग्रिला मोटर्सले कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपासको प्रक्रियालाई तीव्र बनाएको छ, जसले गर्दा देशभरका खरिदकर्ताहरूले सहज र द्रुत रूपमा गाडी प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
चालु आर्थिक बर्षको बजेट भाषणपछि लिपमोटर बी १० को मूल्य घटेसँगै यो ईभी पारखीहरूमाझ थप लोकप्रिय बनेको छ । ५४.९९ लाख रुपैयाँ मूल्य तोकिएको बी १० मा १६० किलोवाटको शक्तिशाली रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवर्स क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा ६०० किलोमिटर सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्दछ ।







प्रतिक्रिया