काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीय बासिन्दाहरुले सोमवार काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा धर्ना दिएका छन् ।
विकास प्राधिकरण तथा काठमाठौं जिल्ला आयुक्तको कार्यालय बुढानीलकण्ठ क्षेत्रका सबै योजनामा ढिलासुस्ती र गैर जिम्मेवार देखिएको भन्दै नगरप्रमुख मिठाराम अधिकारीको नेतृत्वमा उक्त धर्ना दिइएको हो ।
यस विरोध कार्यक्रममा खासगरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम लापरबाहीप्रति भत्र्सना प्रकट गरिएको छ । झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशतमात्र काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
सो कार्यप्रति सबै सम्बद्ध निकाय गम्भीर नभएको भन्दै बर्षाकालमा नागरिकले डुबान, दुर्गन्ध र जनस्वास्थ्य समस्याजस्ता सास्ती व्यहोर्नु परिरहेको उल्लेख गरिएको छ । धर्ना कार्यक्रममा बुढानीलकण्ठ नगरका १०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीयवासीहरूको उपस्थिति थियो ।
उनीहरूले तत्काल समस्या समाधान र ढिलाइ भएका सबै योजनालाई कार्यरूपमा अघि बढाउन प्राधिकरण र सम्बद्ध जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरे । नगरप्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारका विषयमा उदासीनता देखाउने कुनै पनि निकायको व्यवहार स्वीकार्य नहुने भन्दै जबसम्म ठोस प्रतिबद्धता प्राप्त हुँदैन तबसम्म कार्यालय प्रवेश अवरुद्ध राखी धर्ना जारी राखिने चेतावनी दिएका छन् ।









प्रतिक्रिया