काठमाडौं । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित भू बनोटमा टार, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा गोकर्णेश्वरले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
नगर प्रमुख दीपक रिसालले उनले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय सेवा दिन प्रोत्साहन गर्ने बताए । उनले नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाई समेत उच्च महत्व दिईरहेको पनि प्रमुख रिसालले बताए ।
योग नगर घोषणा गरिएको गोकर्णेश्वर नगरपालिकाको विभिन्न ९ वटै वडामा गरी हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् । गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शङ्करापुर अस्पतालबाट पनि उपचारमा छुटको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।









प्रतिक्रिया