काठमाडौं । विद्युतीय सवारी साधन (ईभी)मा सर्वसाधारणको आकर्षण बढ्दै गएका समयमा सरकारले आगामी आर्थिक वर्षको बजेटबाट अत्यधिक मात्रामा कर वृद्धि गरेको छ । विद्युतीय सवारीसाधनमा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था सरकारले गरेको हो ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे जानकारी दिए ।
’इलेक्ट्रिक सवारीसाधनमा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारीसाधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेसन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारी बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु,’ मन्त्री डा. वाग्लेले भने ।
साबिकमा सबभन्दा कम किलोवाट क्षमताका बिजुली गाडीलाई न्यूनतम १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक दस्तुर लाग्थ्यो । अब नयाँ व्यवस्था अनुसार सबभन्दा कम २० लाख रूपैयाँभन्दा तलका गाडीलाई २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र १३ प्रतिशत भ्याट लगाउने गरी शुल्क अद्यावधिक गरिएको छ ।
त्यस्तै, यसअघि अत्यधिक महँगो शुल्क लिइने ३०० किलोवाटभन्दा माथिका गाडीमा ८० प्रतिशत भन्सार, ५० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक शुल्क लाग्ने गरेकोमा अब ५० लाख रूपैयाँभन्दा माथिका बिजुली गाडीमा २० प्रतिशत भन्सार, १३० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक दस्तुर लगाइने व्यवस्था गरिएको छ ।
बिहीबार रातिसम्म आयात भएका बिजुली गाडीमा किलोवाटका आधारमा ५० देखि ३०० किलोवाट माथिसम्म गरेर ६ वटा वर्ग कायम गरिएको थियो । नयाँ बजेटले आयात मूल्यका आधारमा २० लाखदेखि ५० लाख माथिसम्म गरी ६ वटै वर्ग कायम राखेको छ । सरकारले विगतमा ५० किलोवाट माथिका सबै गाडीमा १५ देखि ५० प्रतिशतसम्म अन्तःशुल्क र १० देखि ८० प्रतिशतसम्म भन्सार महसुल लगाएको थियो । नयाँ व्यवस्था अनुसार भने सबै विद्युतीय चारपाङ्ग्रे गाडीमा २० प्रतिशत मात्र भन्सार लगाइएको छ। सडक दस्तुर ५ प्रतिशत र भ्याट १३ प्रतिशत पनि कायम छ। तर अन्तःशुल्क पूरै खारेज गरिएको छ ।
अन्तःशुल्कको सट्टा नयाँ बजेटले स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गरेको छ, जसको दर साबिकको अन्तःशुल्कभन्दा बढी छ । यी सबै शुल्क जोड्दा साबिकको तुलनामा बिजुली गाडीहरूको मूल्य धेरै नै बढ्ने भएको छ ।









प्रतिक्रिया