२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

सूर्यविनायक वडा नं ३ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।

बालबालिकाको अधिकार संरक्षण, सहभागिता, सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समग्र विकाससँग सम्बन्धित राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा गरेपछि विशेष समारोहका बीच वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो। बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान अन्तर्गत नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरी ५१ वटा सूचक पूरा गरिसकेको छ ।

भक्तपुर जिल्लाका चारवटा स्थानीय तहमध्ये सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुने पहिलो पालिका बनेको नगर प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो । स्थानीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकाले सबैं १० वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाले बताउनुभयो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान अन्तर्गत नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरी ५१ वटा सूचक पूरा गरिसकेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिकाले ७० लाख गरी कुल एक करोड ७० लाख बजेटको व्यवस्था गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सुरु गरेको जानकारी दिनुभयो ।

घोषणा समारोहमा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, शिक्षक, अभिभावक, बाल क्लबका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालमैत्री वातावरण निर्माण स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै वडा नम्बर–३ ले हासिल गरेको उपलब्धि अन्य वडाका लागि पनि प्रेरणादायी रहेको बताए।

कार्यक्रममा बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, सहभागिता तथा बालअधिकार सुनिश्चित गर्न वडाले सञ्चालन गरेका विभिन्न कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो।

घोषणा समारोहमा बालबालिकाद्वारा सांस्कृतिक प्रस्तुति, स्वागत गीत तथा सचेतनामूलक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले बालमैत्री समाज निर्माणका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

  :