चितवन – होटल एसोसिएसन नेपाल बागमती प्रदेश तदर्थ समितिको संयुक्त बैठक चितवनको सौराहामा सम्पन्न भएको छ।
बागमती प्रदेश तथा चितवन हानका अध्यक्ष ओम पाण्डेको अध्यक्षतामा बसेको बैठकले चितवनको पर्यटन क्षेत्रका सम्भावना, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो। बैठकमा हानको तर्फबाट अध्यक्ष पाण्डेले नयाँ बागमती प्रदेश तदर्थ समितिकातर्फबाट अध्यक्ष राम सुन्दर बकेलाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।
बैठकमा होटल एसोसिएसन नेपाल बागमती प्रदेश तदर्थ समितिका अध्यक्ष तथा पर्यटन व्यवसायी रामसुन्दर बकेले होटल व्यवसायलाई समयअनुकूल र प्रतिस्पर्धी बनाउन प्रविधिमैत्री सेवा विस्तार, डिजिटल सूचना प्रणालीको विकास, सेवा गुणस्तर अभिवृद्धि तथा व्यवसायीबीच समन्वयलाई थप सुदृढ बनाउने योजना अघि सार्नुभयो। अध्यक्ष बकेले सरकारले हात्ती सफारी सञ्चालनमा लगाएको प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गर्दै संरक्षण र पर्यटनबीच सन्तुलन कायम हुने गरी दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले चितवनको पर्यटनलाई थप सशक्त बनाउन निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
उहाँले कानुनी रूपमा सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायको प्रवर्द्धन, व्यवसायीहरूको हकहित संरक्षण, पर्यटनमैत्री नीति निर्माण तथा आवश्यक कानुनी सुधारका लागि तदर्थ समिति सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा सहभागी व्यवसायीहरूले चितवनलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न पूर्वाधार विकास, सेवा गुणस्तर सुधार, प्रविधिको अधिकतम प्रयोग तथा निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
बैठकका अध्यक्ष ओम पाण्डेले चितवन नेपालको प्रमुख पर्यटन गन्तव्य भएकाले यसको सम्भावनालाई अझ प्रभावकारी रूपमा उपयोग गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संस्थाहरूबीच समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष पाण्डेले भन्नुभयो, “चितवनको पर्यटन केवल होटल व्यवसायीको मात्र विषय होइन, यो समग्र जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको क्षेत्र हो। पर्यटन प्रवर्द्धन, सेवा गुणस्तर सुधार, पर्यटकमैत्री वातावरण निर्माण र नयाँ पर्यटन उत्पादनको विकासमा सबै पक्षले हातेमालो गर्नुपर्छ।”
उहाँले हात्ती सफारीलगायत पर्यटनसँग प्रत्यक्ष जोडिएका विषयमा सरोकारवाला निकायबीच संवादमार्फत दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राख्दै पर्यटन व्यवसायीका समस्या समाधानका लागि निरन्तर सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो।
बैठकले पर्यटन क्षेत्रको दिगो विकास, व्यवसायीहरूको समस्या समाधान र नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझ प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न सरकार र निजी क्षेत्रबीच समन्वयात्मक सहकार्यलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।









प्रतिक्रिया