काठमाडौं । चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै २ हजार १४५ वटा विद्युतीय कार (ईभी) आयात भएका छन्। चाडपर्व दशैं तिहारलाई लक्षित गर्दै अटोमोबाइल व्यवसायीहरूले ठूलो संख्यामा विद्युतीय गाडीहरू भित्र्याएका हुन्।
चीनतर्फका परम्परागत नाका (रसुवागढी) मा पहिरो तथा मौसमका कारण अवरोध भएपछि यस पटक व्यवसायीहरूले मुस्ताङको कोराला नाका लाई व्यापक रूपमा प्रयोग गरेका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौमा कुल २१४५ युनिट विद्युतीय कार, जीप, भ्यान आयात भएको हो । साउन महिनाको तुलनामा भदौमा ईभीको आयात उल्लेख्य रूपमा बढेको देखिन्छ।
भदौमा कुल ५ अर्ब ९ करोड रुपैयाँ बराबरको विद्युतीर कार आयात भएको हो । सो बापत राज्यले ३ अर्ब २३ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । भदौमा चीनबाट सबैभन्दा धेरै ३ अर्ब ५ करोड रुपैयाँ बराबरको १२५६ युनिट विद्युतीय कार आयात भएको छ।
चीनबाट बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल, स्काइवेल लगायत ब्राण्डका ईभी आयात भइरहेको हो ।
भदौमा भारतबाट ५४० युनिट आयात भएका छन् । भारतबाट टाटा, महिन्द्रा, किया, एमजी, सुजुकी लगायत ब्राण्डका ईभी नेपाल भित्र्याइएको छ भने थाइल्याण्डबाट ३४८ युनिट विद्युतीय कार आयात भएको छ ।







प्रतिक्रिया