७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ईभीमय बन्दै नाडा अटो शो, दर्जनभन्दा बढी ब्राण्ड सार्वजनिक हुँदै




काठमाडौं– नेपालमा पछिल्ला बर्षहरुमा बिद्युतीय गाडी (ईभी) को प्रयोग निरन्तर वृद्धि भईरहेको छ । ग्राहकहरु बिद्युतीय गाडीतिर आकर्षित भईरहेका छन् । सरकारले बिद्युतीय गाडीको आयात गर्दा कर छूट दिने तथा बैंक तथा वित्तीय संस्थाहरुले पनि बिद्युतीय गाडीको खरिदमा सहज कर्जा दिने जनाएपछि बिद्युतीय सवारी साधनहरु व्यापक भित्रिएका छन् । नेपाली बजारमा अहिले एक दर्जनभन्दा बढी ब्राण्डका बिद्युतीय गाडीहरु उपलब्ध छन् । बिद्युतीय गाडीहरुको माग बढेसँगै विभिन्न कम्पनीहरुले विभिन्न ब्राण्डका बिद्युतीय गाडीहरु नेपालमा भित्र्याईरहेका छन् ।

आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा बीवाईडी, टाटा, हुण्डाई, आयन सेरेस, किया, स्काई वेल, सिट्रोन, सुजुकी, डिप्पल, ओमोडा, एमजी लगायतका ब्राण्डले स्टल बुकिङ गरिसकेका छन् । केही कम्पनीले बिद्युतीय सवारी साधनको नयाँ मोडल तथा ब्राण्ड समेत प्रदर्शन गर्ने भएका छन् । हुण्डाईको क्रेटा, टाटाले पञ्च ईभी, भीनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिन, सीजी ग्रुपले एक्सपेङ, महिन्द्राको थ्रीएक्सओ, एक्सयुभी ४०० लगायतका ब्राण्डहरु प्रदर्शनीमा राखिने भएको छ । विगतका बर्षहरुमा नाडा अटो शोमा पेट्रोल र डिजलका नयाँ गाडीहरुमा ग्राहकहरुको चासो हुने गरे पनि यस बर्ष बिद्युतीय गाडीमा ग्राहकहरुको आकर्षण देखिने भएको छ । नाडा अटो शोमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिने नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । प्रदर्शनीमा १३० स्टलहरुमा ९५ प्रदर्शकहरुले आफ्ना उत्पादन र सेवाहरु प्रदर्शन गर्ने समेत नाडाले जनाएको छ ।

टाटाको पञ्च ईभी
नाडा अटो शोमा टाटा मोटर्सले नयाँ बिद्युतीय गाडी पञ्च.ईभी सार्वजनिक गर्ने भएको छ । टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ हो । सिप्रदीले केही दिन अगाडिदेखि पञ्च.ईभीको प्रि बुकिङ समेत खुला गरिसकेको छ । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभीले ४२१ किलोमीटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।


पञ्च.ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।

पायोनियर मोटोकर्पको जिकर एक्स
सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्राण्ड जिकर एक्सको दुई भेरियन्ट नेपाल भित्र्याएको छ । कम्पनीले जिकर एक्स आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा पनि प्रदर्शन गर्ने भएको छ ।


जिकर एक्सको स्ट्यान्डर्ड भेरियन्टमा २०० किलोवाट क्षमताको मोटर छ भने फ्लागसिप भेरियन्टमा ३१५ किलोवाट मोटर राखिएको छ । ४४० किलोमिटर रेञ्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ । यो गाडीमा २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले ४ घण्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

एमएडब्लुको डिपल एल०७ र नामी बक्स ईभी
चाँगन डिपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले चांगनको नयाँ मोडल डिपल एल०७ को नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ । यो ईभी इटालीको टुरिनमा डिजाइन गरिएको हो ।

यो गाडीमा वेलकमिङ सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, हेडरेष्ट, आउटडोर स्पीकरसहित १४ वटा स्पीकर, फोर ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इञ्चको टायर, रियल ह्वील ड्राइभ लगायतका फिचरहरु छन् । यो गाडीमा ९९ किलोवाटको मोटर छ भने ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ जसले सिंगल चार्जमा ४१० किलोमीटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।


यस्तै चिनियाँ कम्पनी डङफेङको नामी बक्स ईभी दुई वटा भेरियन्ट पनि एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ । यस गाडीमा ३१.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त गाडीमा ४२.३ किलोवाट क्षमताको ब्याट्र प्याक रहेको छ । दुवै मोडलका गाडीमा ७० किलोवाट क्षमताको मोटर रहेको पनि कम्पनीले जनाएको छ ।

पारामाउन्टको ‘एमजी साइबरस्टर’
एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ मोडलको प्रिमियम स्पोर्टर्स कार नाडा अटो शोमा प्रदर्शन गर्ने भएको छ ।


एमजीको उत्पादनमध्ये सबैभन्दा प्रिमियम मोडल साइबरस्टर प्रदर्शनी गर्न लागिएको हो । अघिल्लो महिना मात्र कम्पनीले यो कारको अन्तर्राष्ट्रिय बजारमा निर्यात शुरु गरेको थियो । यो स्पोर्टस कारको टप स्पीड क्षमता २०१ किलोमिटर प्रतिघन्टा छ । अन्तर्राष्ट्रिय बजारमा साइबस्टर फोर ह्वील र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । यसमा २५० किलोवाटको मोटर छ । कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ ।

एसपीजीको ‘जेकु’
एसपीजी अटोमोबाइल्सले चेरीको जेको ब्राण्ड ईभी नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ । एसपीजी अटोमोबाइल्सका अनुसार जेकु जे६ इलेक्ट्रिक एसयूभी नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी भईरहेको छ ।

ओमोडा र जेको दुवै चेरी अन्तर्गतका सब ब्राण्ड हुन् । जेको जे६ मा १३५ किलोवाट क्षमताको मोटर छ भने ६९.८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । जसले फूल चार्जमा ५०१ किलोमीटर रेञ्ज दिन्छ ।
सांग्रिला मोटर्सको ‘लिपमोटर
सांग्रिला मोटर्सले आगामी नाडा अटो शोका लिपमोटरको सी१० मोडल सार्वजनिक गर्ने तयारी गरेको छ ।

जी मोटर्सको ‘स्काईवेल बीई११’
नाडा अटो शोमा जी मोटर्सले स्काईवेलको बीई११ सार्वजनिक गर्ने भएको छ । दुई भेरियन्टमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले दुवै भेरियन्टमा १५० किलोवाट मोटरपावर रहेको जनाएको छ ।

यस ईभी ४१० किलोमीटर रेञ्ज र ५२० किलोमीटर रेञ्ज गरी दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम रेञ्जमा ५८ किलोवाट आवर र माथिल्लो रेञ्जमा ७१ किलोवाट आवरको ब्याट्री प्याक छ ।

सीजीको अवतार, नेटा एक्स र रिड्डारा’
नाडा अटो शोमा सीजीले नयाँ ईभी ब्राण्ड अवतार सार्वजनिक गर्ने भएको छ । ९० किलोवाटआवरको ब्याट्री रहेको यो प्रिमियम ईभी गाडीको मोटर पावर २३० किलोवाट छ । सीजीले नयाँ मिडसाइज पिकअप रिड्डारा पनि नाडा अटो शो मा सार्वजनिक गर्दै छ ।

यसको मोटर क्षमता २०० किलोवाट छ भने ६३ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको चार्जमा ३८३ किलोमिटर रेन्ज दिने बताइएको छ । यस्तै सीजी मोटर्सले नेटा ईभीको नयाँ मोडल नेटा एक्स पनि अटो सोमा सार्वजनिक गर्ने भएको छ ।
५२ किलोवाटआवर र ६२ किलोवाटआवरका दुई ब्याट्री भेरियन्टमा उपलब्ध गाडीको मोटरपावर १०० किलोवाट छ ।

  :