काठमाडौं–चिनियाँ अटोमेकर कम्पनी बिवाइडीले युरोपमा पहिलोपटक टेस्लाभन्दा धेरै कार बिक्री गरेर नयाँ रेकर्ड बनाउन सफल भएको छ ।
अटो बजारको प्रवृत्ति, मूल्य निर्धारण र बिक्रीसम्बन्धी विश्लेषण गर्ने कम्पनी जाटो डाइनामिक्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अप्रिल महिनामा युरोपभरि ७ हजार २ सय ३१ युनिट बिद्युत कार बिक्री गरेको छ । जबकी अप्रिल महिनामा टेस्लाले ७ हजार १६५ युनिट कार बिक्री गरेको थियो । गत वर्ष भन्दा यो वर्षको अप्रिल महिनामा युरोपमा बीवाईडीले ३५९ प्रतिशत बढी बजार बनाउन सफल भएको छ ।
टेस्लाको पुरानै मोडल र यसका मालिक इलन मस्कको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकटताका कारण युरोपमा व्यापार खस्किरहेको विश्लेषण समेत भईरहेको छ । गत वर्षको अप्रिलको तुलनामा यस वर्ष विद्युतीय गाडी दर्ता २८ प्रतिशतले बढेको छ। युरोपेली संघले चिनियाँ गाडीमा कर लगाए पनि गत वर्षको तुलनामा बिवाइडीको नयाँ दर्ता ५९५ले बढेको जाटोको प्रतिवेदनले देखाएको छ। युरोप, जापान, दक्षिण कोरिया र अमेरिकामा बनेका गाडीको नयाँ दर्ता गत वर्षको तुलनामा २६ प्रतिशतले मात्रै बढेको बताइएको छ।
ट्रम्पसँग नजिकिएर राजनीतिमा होमिएका कारण कम्पनीको यो वर्षको पहिलो त्रैमासमै ७१ प्रतिशत नाफा घटेको थियो। अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ४० करोड नाफा गरेको टेस्लाले यो वर्ष पहिलो त्रैमासाम ४० करोड ९० लाख डलरमात्रै नाफा कमाएको थियो।
बीवाइडीले पछिल्लो समयमा तुलनात्मक रूपमा राम्रा गाडी धेरै सस्तो लागतमा उत्पादन गर्न शुरु गरेकाले पनि टेस्ला प्रतिस्पर्धामा पछाडि परेको हो ।





प्रतिक्रिया