माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नाइमा मोबिलिटी शोमा म्याक्सस मिफा सेभेन सार्वजनिक हुने




काठमाडौं–काठमाडौंको भृकुटीमण्डपमा यही साउन २१ गतेदेखि आयोजना हुन लागेको नाइमा मोबिलिटी शो २०२५ मा चीनको प्रतिष्ठित एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको अत्याधुनिक विद्युतीय एमपीभी म्याक्सस मिफा सेभेन सार्वजनिक हुने भएको छ ।

सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई हिमालयन मोट्रक्सले सार्वजनिक गर्न लागेको हो । हिमालयन मोट्रक्स, हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो, जसले विगत ३० वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय सवारी साधनहरू नेपालमा आयात गर्दै आएको छ ।

‘मिफा सेभेनले प्रिमियम सवारी साधन खोज्ने ग्राहकका लागि लक्जरी र प्रविधिको अद्वितीय संयोजन प्रदान गर्ने हिमालयन मोट्रक्सका प्रबन्ध निर्देशक सौरभ थापाले बताए ।


यो गाडीमा ९० किलोवाट क्षमताको उच्च प्रदर्शन ब्याट्री जडान गरिएको छ, जसले ६३५ किमी दूरी पार गर्नसक्ने दाबी गरिएको छ । साथै यो कारले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ, जसबाट ३० मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

गाडीमा १८० किलोवाटको हाई–परफर्मेन्स इलेक्ट्रिक मोटर (३५० एनएम टर्क) जडान गरिएको छ । ८ वर्ष वा २ लाख किमीमा ब्याट्री वारेन्टी र ५ वर्ष वा १ लाख किमीमा मोटर वारेन्टी दिइने पनि कम्पनीले जनाएको छ ।

  :