काठमाडौं– नेपालमा एसआरएम र जोयलङ ईभी भ्यानको आधिकारिक बिक्रेता भीजी मोटर्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ ।
पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ ।
विद्यालय तथा सार्वजनिक सवारी चालकहरुलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउने बनाउनु प्रशिक्षणको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरुलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
उक्त कार्यक्रममा भिजि मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो पहिलो चरणको तालिम रहेको र भविष्यमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए ।
भीजी मोटर्सले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ईभी सुरक्षालाई आधारभूत शिक्षा प्रणालीमा समावेश गर्न र प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने योजना अगाडि सारेको छ ।









प्रतिक्रिया