काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नाडा अटो शो २०२५ मा एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ल्याएको ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) उड्ने कार सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त उड्ने कार सार्वजनिक गरेका हुन् । अटो शोको स्टल नं ए १ मा प्रदर्शनका लागि राखिएको उक्त कार आगन्तुकहरुको आकर्षणको केन्द्र नै बनेको छ । उक्त कार हेर्नको उक्त स्टलमा ठूलो भीड लागेको छ । स्वचालित रुपमा उडाउन मिल्ने यस कारमा दुईजना वस्न मिल्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटर रेन्ज प्रदान गर्ने यस कारको स्पिड भने प्रति घन्टा १३० किलोमिटर छ ।
यी नवीनतम प्रविधिले नाडा अटो शोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउने कम्पनीले जनाएको छ ।
उक्त कार चीनबाट गाडीमा ल्याइएको थियो । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा पहिरोले सडक अवरुद्ध भएपछि करिब १५० मिटर भरिया लगाएर बोकाइएको थियो भने तातोपानी भन्सारबाट फेरि गाडीमै काठमाडौं ल्याइएको हो । उड्ने कार मेलामा प्रदर्शनी प्रयोजनका लागि मात्रै धरौटीमा ल्याइएको हो। प्रदर्शनीमा राखेपछि फेरि फिर्ता लैजानुपर्ने बताइएको छ ।









प्रतिक्रिया