७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालमा ईभीको आयात बढ्दै, एक महिनामै झण्डै ९० करोडको ईभी आयात




काठमाडौं– नेपालमा बिद्युतीय सवारी साधन (ईभी)को आयात बढ्दै गएको छ । चालू आर्थिक बर्षको पहिलो महिना साउन महिनामा बिद्युतीय सवारी साधनको आयात गत आर्थिक बर्षको सोही अवधिको तुलनामा साँढे तीन गुणाले बढेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

चालू आवको साउनदेखि भदौ सम्ममा रु ८९ करोड ७० लाख २० हजार मूल्य बराबरको ३८१ विद्युतीय कार, जिप र भ्यान आयात भएको छ भने गत वर्षको सोही अवधिमा रु ३४ करोड ६१ लाख बराबरको ११० थान विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार कूल ३८१ मध्ये २०२ वटा गाडी चीनबाट ५६ करोड ८६ लाख ६० हजार रुपैयाँ को आयात भएको छ भने बाँकी जर्मनीबाट १ बाहेक भारतबाट आयात भएको छ ।

सो अवधिमा ५० किलोवाट र ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारी साधन आयात भएको तथ्यांकमा उल्लेख छ । सरकारले गत आर्थिक वर्षको पहिलो महिनामा १८ करोड २३ लाख ९० हजार रुपैयाँ को आयात राजस्व संकलन गरेकोमा ५२ करोड १८ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आवमा रु २९ अर्ब ४८ करोड मूल्य बराबरको ११ हजार ७०१ थान विद्युतीय सवारी साधन आयात भएकोमा नेपाली बजारमा चीनबाट आयात हुँदा रु १३ अर्ब २८ करोड राजस्व संकलन भएको छ ।

यही भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने नाडा अटो शोमा पनि ईभीमय बन्ने लगभग पक्कापक्की छ । नाडा अटो शोमा ईभी गाडीहरु आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । नाडा अटो शोमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ हल्का व्यावसायिक सवारी साधनहरु प्रदर्शन गरिने भएको छ ।

प्रदर्शनीमा १३० स्टलहरुमा ९५ प्रदर्शकहरुले आफ्ना उत्पादन र सेवाहरु प्रदर्शन गर्ने समेत नाडाले जनाएको छ । यस बर्ष नाडा अटो शो पहिलेको भन्दा भव्य र प्रभावशाली हुने अपेक्षा नाडाले गरेको छ ।

  :