७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा विभिन्न ब्रान्डका ईभीको मूल्य घटाउने प्रतिस्पर्धा



काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा गाडी बिक्रेताहरुले ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न अफरहरु घोषणा गरेका छन् । कतिपय गाडी बिक्रेताहरुले गाडीको मूल्यमा भारी कटौती गरेर ग्राहकहरुलाई आकर्षित गरिरहेका छन् । विशेष गरेर बिद्युतीय गाडीहरु ग्राहकहरुको पहिलो रोजाई परेका छन् ।

दिपल ईभीको उत्पादक चाँगानको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नाडा अटो शो केन्द्रीत ग्राहक स्किम बिग ब्याङ अफर घोषणा गरेको छ । यो अफरमार्फत कम्पनीले दिपल एस ०७ को मूल्यमा ३ लाख रुपैयाँ कटौती गरेको छ ।

सेरेस ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ कम्फर्ट मोडलका लागि विशेष अफर घोषणा गरेको छ । नाडा अटो शो २०२४ को अवसरमा कम्पनीले विशेष अफर घोषणा गरेको हो ।

अब नयाँ सेरेस ३ कम्फर्ट मोडल ४५ लाख ४९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रहेको छ । यो भन्दा पहिले यी दुई भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ थियो । यस अनुसार दुई मोडलको मूल्यमा ४ लाख ५० हजार रुपैयाँ सम्म कमी आएको छ ।

चिनियाँ ब्राण्ड जिलीको ईभी जिकर एक्स सार्वजनिकसँगै भारी कटौती गरेर मूल्य तोकिएको छ । सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल भित्र्याएको उक्त उक्त गाडी टु ह्वील ड्राइभ स्ट्यान्डर्ड र फोर ह्वील ड्राइभ फ्लागसिप गरी दुई भेरियन्टका छन् । टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ । यस अगाडि यस गाडीको यसको मूल्य ८९ लाख ९९ हजार रहेको थियो । यसैगरी फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य १ करोड ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस अगाडि यसको मूल्य १ करोड ५९ लाख ९९ हजार रुपैयाँ थियो ।

यसैगरी एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ‘सेलिब्रेसन अफ दी सेन्चुरी’ नाराका साथ उक्त ईभीको मूल्य एकै पटक ६ लाख रुपैयाँ घटाएको हो । नाडा अटो शो र दशैं तिहारको लागि स्पेशल अफर ल्याएको भन्दै कम्पनीले यो अफर सीमित अवधिका लागि मात्रै लागू हुने पनि जनाएको छ ।

  :