काठमाडौं– चालू आर्थिक बर्ष २०८१/८२को साउनदेखि पुषसम्ममा विभिन्न ब्रान्डका ५ हजार ४८० युनिट इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको भन्सार विभागले जनाएको छ । विभागले ५० किलोवाट क्षमताका ईभी १७ सय २५, ५१ देखि १०० किलोवाट क्षमताका ३१ सय ९१ र १०१ देखि २०० किलोवाट क्षमताका ५५३ वटा गाडीको आयात भएको जनाएको छ ।
यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको ९ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्यांकले देखाएको छ । १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको पनि भन्सार विभागले जनाएको छ।
उक्त मूल्यको गाडी आयात हुँदा सरकारले ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ ।
यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ९५८ र भारतबाट ७६७ वटा भित्रिएका छन् । यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २७ सय ७, भारतबाट ३८३ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्यांकले देखाएको हो ।
यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ५३१, जर्मनीबाट १७, कोरियाबाट १ र अमेरिकाबाट एक वटा गाडी भित्रिएका छन् । विभागका अनुसार विक्रेता कम्पनीहरुले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट एक वटा गाडीको आयात गरेका छन् ।
यसका साथै २०१ देखि ३०० किलोवाटको चीनबाट ७, जर्मनीबाट २ र ३०० भन्दा किलोवाट भन्दा माथिको २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जनाएको छ ।
प्रतिक्रिया