काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३ हजार २०३ युनिट विद्युतीय गाडी (ईभी)सहित ६ हजार ४३२ युनिट सवारी साधन नेपाल भित्रिएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ४ महिना (साउन–कात्तिक)को तथ्यांक अनुसार गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा यस वर्ष २८४ युनिट कम ईभी भित्रिएको हो । यस वर्ष गत आर्थिक वर्षको तुलनामा ८.१४ प्रतिशतले ईभीको आयात घटेको हो ।
विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखी कात्तिकसम्मको अवधिमा ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ३ हजार २०३ युनिट ईभी नेपाल भित्रिएका हुन् । उक्त आयातबाट सरकारले ४ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
त्यसैगरी, चालू आर्थिक वर्षको चार महिनाको अवधिमा इन्धन र ईभी गरी १ लाख ६ हजार ६९० युनिट दुई पांग्रे सवारी साधन आयात भएका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष इन्धन र ईभी दुवै सेग्मेन्टका दुई पांग्रे सारी साधनको आयात बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २५।७ प्रतिशतले बाइक तथा स्कुटरको आयात बढेको हो ।
साउनदेखी कात्तिकसम्मको अवधिमा इन्धनतर्फ मात्र एक लाख ६१७ युनिट बाइक तथा स्कुटर भित्रिएका छन् । उक्त आयातबाट १२ अर्ब ४७ करोड ८५ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको विभागले जनाएको छ ।
चालू आर्थिक वर्षको यस अवधिमा ईभीतर्फ ५८ करोड ८० लाख रुपैयाँ बराबरको ६ हजार ७३ युनिट ईभी बाइक तथा स्कुटर आयात भएको छ । उक्त आयातबाट सरकारले २० करोड ५७ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।









प्रतिक्रिया