पुस १, २०८२ मंगलबार | Tue Dec 16 2025

नाइमा मोबिलिटी एक्सपो आगामी साउन २६ देखि ३१ गतेसम्म



काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को पहिलो वार्षिक साधारणसभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय, कमलपोखरीमा सम्पन्न भएको छ ।

साधारण सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन् । उनले विगत नौ महिनामा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को सफल आयोजना तथा मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरूको निरन्तर सञ्चालनले संस्थाको भूमिका अझ व्यापक र विश्वसनीय बनेको उल्लेख गरिन् ।

कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१र८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गरे । साथै, संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना र पारदर्शी वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिबद्धता दोहोर्याए ।

साधारण सभाले आर्थिक वर्ष २०८२र८३ का लागि नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन–अनुसन्धान, नीतिगत बहस तथा पैरवी र ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को आयोजना लगायतका कार्यक्रमहरू पारित गरेको छ । आगामी मोबिलिटी एक्सपो २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी नाइमाले गरेको जनाएको छ ।

संस्थागत सुदृढीकरणअन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा रणनीति तथा मेम्बरशिप अफेयर्स समिति गठन गर्ने निर्णय गरिएको छ । साथै, मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा समितिमा सदस्यका रूपमा मनोनयन गरिएको छ ।

  :