७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

स्याकारले २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग निःशुल्क परिवर्तन गर्ने



काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले आफ्ना ग्राहकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सेफ्टी रिकल अभियानको घोषणा गरेको हो ।

यस अभियान अन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने कम्पनीले जनाएको छ ।

यो सेफ्टी रिकल अभियान होण्डा मोटर कम्पनी जापानको विश्वव्यापी अभियानको एक हिस्सा रहेको कम्पनीले जनाएको छ । जसको उद्देश्य पुराना गाडीहरूमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरूको यात्रालाई थप सुरक्षित बनाउनु हो।

ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै संचालन गरिएको यस अभियान अन्तर्गत ज्याज, अकर्ड, सीआर भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश गरिएका छन्। कम्पनीले यी गाडीहरूको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरूद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।

स्याकार ट्रेडिङ्गले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न हार्दिक अनुरोध गरेको छ ।

  :