काठमाडौं । काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले साझा यातायातले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
संविधान दिवसको अवसर पारेर हाल सञ्चालनमा रहेको रात्रीकालीन सार्वजनिक यातायात सेवालाई चार गुणाले विस्तार गरिएको हो। सेवा विस्तारसँगै उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा सार्वजनिक यातायातको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुँदै आएको थियो। नागढुंगा–विमानस्थल र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन भइरहेको सेवा अब थप रुटमा विस्तार गरिएको हो।
नयाँ व्यवस्थाअनुसार बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थल–नागढुंगा रुटमा चार वटा, कीर्तिपुर–जमल रुटमा चार वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ चार–चार गरी आठ वटा विद्युतीय बस सञ्चालन हुनेछन्। यसअघि सञ्चालनमा रहेका नागढुंगा–विमानस्थल र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ।
साझा यातायातका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन्। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समयसमेत समायोजन गरिनेछ।
विशेषगरी चक्रपथमा दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुने भएकाले उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रीकालीन सार्वजनिक यातायातसँग जोड्न सहज हुने अपेक्षा गरिएको छ। भक्तपुर–ठमेल, बुढानीलकण्ठ–गोदावरी, विमानस्थल–नागढुंगा, ठमेल तथा कीर्तिपुर–जमललगायत रुटमा पनि यात्रुको आवश्यकताअनुसार सेवा सञ्चालन गरिने जनाइएको छ।
काठमाडौं महानगरपालिकाको विशेष कार्यदलले दिएको सिफारिसका आधारमा रात्रीकालीन यातायात सेवाको दायरा विस्तार गरिएको साझा यातायातले जनाएको छ। यसअघि सीमित रुट तथा सवारीसाधनमार्फत सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विद्युतीय बसमार्फत सञ्चालन हुनेछ।
सेवा विस्तारसँगै रातिको समयमा काम गर्ने कर्मचारी, व्यवसायी, विद्यार्थी तथा अन्य यात्रुलाई सार्वजनिक यातायातको सुविधा लिन सहज हुने अपेक्षा गरिएको छ। साथै, निजी सवारीसाधनमा निर्भरता घटाउन र काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित बनाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।







प्रतिक्रिया