४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

चिनियाँ विद्युतीय गाडीका ब्याट्रीमा गुणस्तरको प्रश्न, परीक्षण समय घट्दा जोखिम बढेको दाबी



काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन बजारमा तीव्र प्रतिस्पर्धासँगै छोटो समयमै नयाँ मोडल सार्वजनिक गर्ने होड बढ्दा ब्याट्रीको गुणस्तर र सुरक्षामाथि प्रश्न उठ्न थालेको छ।

विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलका अध्यक्ष रोबिन जेङले सन् २०२६ मा मात्रै चीनमा ६०० भन्दा बढी नयाँ गाडीका मोडल सार्वजनिक भइसकेको बताएका छन्। उनका अनुसार औसतमा दैनिक तीनवटासम्म नयाँ मोडल बजारमा प्रवेश गरिरहेका छन्।

सिचुआन प्रान्तमा आयोजित पावर ब्याट्री सम्मेलनमा बोल्दै जेङले नयाँ गाडी विकास र परीक्षणका लागि उपलब्ध समय घट्दै जाँदा ब्याट्रीको गुणस्तरमा असर पर्न सक्ने बताएका हुन्। बजारमा मूल्य घटाउने तथा उत्पादन बढाउने दबाबले केही उत्पादकलाई सुरक्षा र गुणस्तर परीक्षणमा सम्झौता गर्न बाध्य बनाएको उनको संकेत थियो।

चिनियाँ बजारमा पछिल्लो समय Geely, सनवोडा र GAC Aion लगायतका ब्रान्डका विद्युतीय गाडीमा ब्याट्री सुन्निने, क्षमता घट्ने तथा प्राविधिक समस्या देखिएको विषय विवादमा आएको छ। केही मुद्दा अदालतसम्म समेत पुगेका छन्।

जेङले विद्युतीय सवारीसाधनको बढ्दो प्रतिस्पर्धाबीच ब्याट्रीको सुरक्षा र विश्वसनीयतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार उत्पादनको गति बढाउनेभन्दा ब्याट्रीको गुणस्तर सुनिश्चित गर्ने परीक्षण प्रणालीलाई थप कडा बनाउनु आवश्यक छ।

सीएटीएलले ब्याट्री उत्पादनमा पार्ट्स–पर–बिलियन तहसम्मको सूक्ष्म गुणस्तर नियन्त्रण र कठोर परीक्षण प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ। विद्युतीय गाडीको संख्या र मोडल बढ्दै जाँदा ब्याट्रीको सुरक्षा सुनिश्चित गर्नु उत्पादकका लागि थप चुनौतीपूर्ण बन्दै गएको छ।

  :